बिहारमा सात नयाँ रेलको सुरुवात, तीन अमृत भारत एक्सप्रेससहित
13 दिन पहिले प्रकाशित

एजेन्सी, असोज १३ गते । बिहार विधान सभा चुनाव नजिकिँदै भारतीय जनता पार्टी (भाजपा) ले राज्यलाई सात नयाँ रेलको उपहार दिएको छ। सोमबार पटना जंक्शनमा उपमुख्यमन्त्री सम्राट चौधरी र दिल्लीमा रेल मन्त्री अश्विनी वैष्णवले भर्चुअल रूपमा झण्डा देखाउँदै तीन अमृत भारत एक्सप्रेससहित सात नयाँ रेलको संचालन सुरु गरेका हुन्। नयाँ रेलमार्गअन्तर्गत मुजफ्फरपुर–चर्लपल्ली, दरभंगा–मदार र छपरा–आनन्द विहार अमृत भारत एक्सप्रेस चलेका छन्, जसले बिहार र दक्षिण भारत तथा दिल्लीबीचको यात्रा थप सहज बनाउने बताइएको छ।
यस्तै, पटना–बक्सर, झाझा–दानापुर, पटना–इस्लामपुर र शेखपुरा–बरबीघा–बिहार शरीफ हुँदै नवादा–पटना रेलसेवा पनि सुरु भएको छ। रेल सेवामा भइरहेको विस्तारसँगै बिहारमा अमृत भारत एक्सप्रेसको संख्या १३ पुगेको छ। केन्द्र सरकारले यस वर्ष बिहारका लागि १० हजार करोडभन्दा बढी बजेट छुट्याएको र नयाँ रेल लाइन, विद्युतीकरण, स्टेशन विकास, गंगा नदीमा रेल–सडक पुल निर्माणलगायत परियोजना तीव्र गतिमा अघि बढिरहेको उपमुख्यमन्त्री चौधरीले बताए। नयाँ रेलहरूलाई मध्यम वर्गीय यात्रुका लागि किफायती र आधुनिक सुविधा सम्पन्न भनिएको छ।
कमेन्ट गर्नुहोस्
view comments