दशैं नवरात्रको तेस्रो दिन: चन्द्रघण्टा देवीको पूजा, मन्दिरहरूमा भक्तजनको भीड

18 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज ८ गते ।  दशैं नवरात्रको तेस्रो दिन आज देशभर चन्द्रघण्टा देवीको पूजा आराधना भइरहेको छ। घटस्थापनासँगै सुरु भएको नवरात्रमा देवीका नौ रूपहरूको पूजा गर्ने परम्पराअनुसार आज चन्द्रघण्टाको विशेष पूजा गरिंदैछ। विशेषगरी गीत-सङ्गीत क्षेत्रमा संलग्न व्यक्तिहरूले चन्द्रघण्टा देवीको पूजा र आराधनामा जोड दिन्छन्।

राम मन्दिरको उत्तरतर्फ अवस्थित ऐतिहासिक राजदेवी मन्दिर जनकपुरका प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ। राजा जनककी कुलदेवीका रूपमा पुजिँदै आएको यो मन्दिरमा वर्षभरि भक्तजनको भीड लाग्ने गरे पनि नवरात्रमा श्रद्धालुहरूको घुइँचो असाध्यै बढ्छ। तर दशैंभरि भने महिलालाई मन्दिरभित्र प्रवेश गर्न रोक लगाइने परम्परा आजसम्म कायम छ। महिलाहरू भित्र छिर्न नपाए पनि बाहिर लाइनमा उभिएर झ्यालमार्फत पूजा गर्ने प्रचलन छ। यस परम्पराबारे समय–समयमा प्रश्न उठे पनि धार्मिक आस्थाका कारण महिलाहरूले यसलाई स्वीकार गर्दै आएका छन्।

मन्दिरका पुजारी राम गिरीका अनुसार त्रेतायुगदेखि राजदेवीलाई जनकको कुलदेवीका रूपमा पूजा गर्ने चलन छ। प्राचीन कथनअनुसार, एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेपछि बेपत्ता भएपछि महिलाको प्रवेशमा रोक लगाइएको हो। साथै, रजस्वला अवस्थामा पनि महिलाहरू पूजाका लागि आउने भएकाले तान्त्रिक विधिमा हुने पूजामा बाधा पर्न सक्ने भन्दै परम्परा निरन्तर गरिएको गिरी बताउँछन्। यस मन्दिरमा विशेषगरी अष्टमीको रात ठूलो संख्यामा बलि चढाइन्छ, जहाँ एकै रातमा करिब १५ हजारभन्दा बढी खसी–बोका अर्पण गरिने परम्परा छ।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणी लगायतका मन्दिरहरूमा भक्तजनको भीड लागेको छ। उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी जस्ता शक्तिपीठहरूमा पनि भक्तहरूको घुइँचो छ।

नवरात्रका नौ दिनमा क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ। चन्द्रघण्टा देवीलाई पार्वतीको सौन्दर्य अवतार मानिन्छ, र उनको पूजाले साधकमा वीरता, निर्भयता, सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ। धर्मशास्त्रहरूमा उल्लेख छ कि चन्द्रघण्टाको शिरमा अर्धचन्द्रको आभूषण हुन्छ, जुन घण्ट जस्तो देखिन्छ, जसकारण उनलाई चन्द्रघण्टा भनिएको हो। श्रीमद्‍देवीभागवत लगायतका ग्रन्थहरूमा उनले क्रोध, हिंसा जस्ता आसुरी प्रवृत्तिको नाश गरी सज्जनको रक्षा गर्न अवतरित भएको उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?