बिहार चुनावअघि आतंकवादी खतरा, नेपाल हुँदै प्रवेश गरेको दाबी
5 दिन पहिले प्रकाशित

एजेन्सी,भदौ १२ गते । बिहारमा विधानसभा चुनाव नजिकिँदै गर्दा आतंकवादी खतरा बढेको भारतीय सञ्चार माध्यमहरूले बताएका छन्। प्रहरी मुख्यालयले प्राप्त संवेदनशील सूचनापछि राज्यभर उच्च सतर्कता जारी गरिएको छ। पाकिस्तानस्थित प्रतिबन्धित संगठन जैश-ए-मोहम्मदसँग सम्बन्धित तीन आतंककारी—हसनैन अली (रावलपिण्डी), आदिल हुसेन (उमरकोट) र मोहम्मद उस्मान (बहावलपुर)—अगस्टको दोस्रो हप्तामा काठमाडौं पुगेको र त्यसपछि नेपाल हुँदै बिहार प्रवेश गरेको दाबी गरिएको छ। यी विवरणहरू प्रहरी मुख्यालयले सीमावर्ती प्रशासन र सुरक्षा एजेन्सीहरूसँग साझा गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ।
गुप्तचर निकायहरूले यी आतंककारीहरूले राज्यमा कुनै पनि ठूलो राजनीतिक कार्यक्रम वा भीडभाड भएका ठाउँलाई लक्षित गर्न सक्ने चेतावनी दिएका छन्। चुनावी सन्दर्भमा सतर्कतालाई अझ संवेदनशील मानिएको छ। बिहार प्रहरी पूर्ण सतर्कतामा रही सीमावर्ती क्षेत्रमा खोजी अभियान तीव्र बनाएको छ भने शंकास्पद गतिविधिमा नजर राख्न प्रहरी कप्तानहरूलाई निर्देशन दिइएको छ। तर, भारतीय सञ्चार माध्यमले गरेको दाबीबारे नेपाल सरकार वा प्रहरीले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
कमेन्ट गर्नुहोस्
view comments