उत्तराखण्डमा भीषण वर्षाको रेड अलर्ट, १४ अगष्टसम्म केदारनाथ यात्रा स्थगित; यात्रुका लागि एडभाइजरी जारी
18 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण २७ गते । उत्तराखण्डमा मुसलधारे वर्षाले जनजीवन प्रभावित बनेको छ। कतै भीषण वर्षाका कारण नदी–नाला उफानमा छन् भने कतै बादल फटेर स्थानीय बासिन्दा संकटमा परेका छन्। यसैबीच मौसम विभागले १२, १३ र १४ अगष्टका लागि प्रदेशभर वर्षाको रेड अलर्ट जारी गर्दै अनावश्यक घरबाहिर ननिस्कन आग्रह गरेको छ। रुद्रप्रयाग जिल्ला प्रशासनले यात्रु सुरक्षालाई मध्यनजर गर्दै केदारनाथ यात्रा अस्थायी रूपमा १४ अगष्टसम्मका लागि रोक्ने निर्णय गरेको हो। रुद्रप्रयागका प्रमुख जिल्ला अधिकारी प्रतीक जैनका अनुसार देहरादुनस्थित मौसम विज्ञान केन्द्रले आगामी तीन दिनसम्म प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको पूर्वानुमान गरेको छ, जसका कारण यो कदम चालिएको हो।
जिल्ला प्रशासनले सबै यात्रुका लागि एडभाइजरी जारी गर्दै खराब मौसमका बेला यात्रा नगर्न अनुरोध गरेको छ। राज्य आपतकालीन व्यवस्थापन विभागका निर्देशनअनुसार सबै सम्बन्धित निकायलाई सतर्क रहन भनिएको छ। साथै, राजमार्गका ‘डेंजर जोन’ क्षेत्रमा २४ घण्टा जेसीबी र पोकल्यान्ड मेसिन तयारी अवस्थामा राखिएका छन्, ताकि बाटो अवरुद्ध भए तत्काल खुलाउन सकियोस्। नदीको जलस्तर निरन्तर अनुगमनमा राखिएको छ र नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments