शिबु सोरेनको अन्त्येष्टिमा सहभागी हुन राँची गएका तेजस्वी, डोमिसाइल नीति र योजनाबारे बोले

19 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण २० गते । बिहारका विपक्षी नेता तेजस्वी यादव झारखण्ड मुक्ति मोर्चाका संस्थापक शिबु सोरेनको अन्त्येष्टिमा सहभागी हुन मंगलबार राँची गएका छन्। जानुअघि उनले सञ्चारकर्मीसँग कुरा गर्दै झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनसँग भेट हुने जानकारी दिए। उनले शिबु सोरेनको निधनलाई झारखण्ड मात्र होइन, समग्र राजनीतिक जगतका लागि अपूरणीय क्षति भने। साथसाथै सोरेन परिवारसँग पारिवारिक सम्बन्ध रहेको पनि उल्लेख गरे।

तेजस्वीले बिहारमा डोमिसाइल नीति लागू भएकोमा सन्तोष व्यक्त गरे। उनले भने, “सरकार हाम्रो मागअनुसार काम गरिरहेको छ। डोमिसाइल नीति पनि हाम्रो दबाबमै आयो। अब ‘माई बहिन मान योजना’ जस्ता हाम्रो अन्य योजनाहरू पनि सरकारले अंगिकार गर्नेछ।”चुनाव आयोगबाट आएको नोटिसबारे प्रतिक्रिया दिँदै उनले भने, “हामी जवाफ दिनेछौं तर आयोगले हाम्रो प्रश्नको किन जवाफ दिँदैन?” उनले मतदाता सूचीको प्रारूपमा गम्भीर त्रुटिहरू देखिएको र त्यसबारे सुप्रीम कोर्टसम्म जाने तयारी भइरहेको जानकारी दिए।

यस्तै, राहुल गान्धीको नेतृत्वमा सुरु हुने भनिएको ‘वोट अधिकार यात्रा’ शिबु सोरेनको निधनका कारण हाललाई स्थगित गरिएको र नयाँ मिति चाँडै घोषणा गरिने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?