प्रयागराज बाढीले तहसनहस : महाकुम्भ स्थल जलमग्न, सडकमा डुंगा चल्न थाले
9 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण २० गते । उत्तर प्रदेशको प्रयागराज सहरमा गंगा र यमुना नदी उफ्रिएपछि भीषण बाढीको अवस्था देखिएको छ। जनवरीमा भव्य महाकुम्भ आयोजना गरिएको संगम क्षेत्र अहिले समुद्रजस्तै देखिन थालेको छ। ड्रोनबाट लिइएका तस्वीरहरूले बाढीको भयावहता उजागर गरेका छन्—आरती स्थल, मठ, मन्दिर, आश्रम, झुपडी र पसलहरू सबै पानीमा डुबेका छन्।
राज्यका २१ जिल्ला बाढीको चपेटामा छन् भने ११ जिल्लाका विद्यालय बन्द गरिएका छन्। बाढीपछि प्रयागराजको अधिकांश भूभाग जलमग्न भएको छ—घरसहित सडक, खेत, स्कुल सबै ठाउँमा पानी पसेको छ। गंगा घाटहरूमा मन्दिरका माथिल्लो भाग मात्र देखिन थालेका छन्।
जनजीवन अस्तव्यस्त भएपछि NDRF र SDRF टोलीहरू उद्दारमा खटिएका छन्। स्थानीय प्रशासनका प्रमुख मनीष वर्मासहित अधिकारीहरू ग्राउन्डमा नै रही राहत तथा उद्धार कार्यमा सक्रिय छन्। धेरै मानिस घर छाडेर सुरक्षित स्थानमा पलायन गर्न बाध्य भएका छन् भने सहरभित्र डुंगा चलाएर आवतजावत भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments