मधेसको गहिरिँदो सिँचाइ संकट : मन्त्री यादव भन्छन्, ‘वाटर रिचार्ज’ नै दीर्घकालीन समाधान हो
8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १२ गते । मधेस प्रदेश अहिले गम्भीर सिँचाइ र पानी संकटको चपेटामा परेको छ, जहाँ किसानहरू धान रोप्ने मुख्य समयमा वर्षा नपरेपछि आकाशतर्फ टोलाउँदै छन्। जमिनमुनिको पानीको सतह घट्दो छ, नदी–नालाहरू बालुवा–गिट्टीले पुरिँदै छन्, जसले सिँचाइ मात्रै होइन, जीविकोपार्जनमै संकट ल्याएको छ। ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवका अनुसार संकटको मूल कारण भूमिगत पानीको अत्यधिक दोहन र ‘वाटर रिचार्ज’ नहुनु हो। चुरे क्षेत्रबाट बहने पानी सीधा बगेर जाने भएकाले भूजल भण्डारण भरिँदैन, जसले खानेपानीसमेत चरम अभावको रूप लिएको छ।
दीर्घकालीन समाधानका लागि सरकारले पुरिएका नदीहरूको उत्खनन, हेडवर्क्स निर्माण र ठूला नदीबाट सुक्खा नदीमा पानी डाइभर्सन गर्ने योजना अघि सारेको छ। तत्काल राहतका रूपमा डीप बोरिङलाई प्राथमिकता दिइएको छ, तर मन्त्री यादव भन्छन्, "यो संकट टार्न अर्को संकट निम्त्याउनु जस्तै हो।" बागमती र कमला सिँचाइ आयोजनाहरूले केही सहारा दिए पनि त्यसको लाभ सीमित रहेको उनले बताए। उनका अनुसार ‘वाटर रिचार्ज’ प्रणाली स्थापना नै संकट समाधानको एकमात्र स्थायी उपाय हो र सरकारले यही विषयलाई अबको प्राथमिक कार्यसूचीमा राखेको छ।
कमेन्ट गर्नुहोस्
view comments