धनुषाका स्वास्थ्यकर्मीहरूको चेतावनी — “श्रम शोषण बन्द गर, नत्र आन्दोलनमा उत्रिन्छौं”

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज २७ गते । मधेश प्रदेशका निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले आफूहरू माथि भइरहेको श्रम शोषण र दमनको अन्त्य गर्न माग गर्दै धनुषामा पत्रकार सम्मेलन गरी ८ बुँदे मागपत्र सार्वजनिक गरेका छन्।स्वास्थ्यकर्मीहरूले आरोप लगाएका छन् कि निजी अस्पताल सञ्चालकहरूले न्यून तलब, असमान व्यवहार, र असुरक्षित कार्य वातावरण सिर्जना गर्दै वर्षौंदेखि शोषण गर्दै आएका छन्। मन्त्रालयहरूले पटक–पटक निर्देशन जारी गरे पनि निजी अस्पतालहरूले त्यसको कार्यान्वयन नगरेको उनीहरूको गुनासो छ।

उनका अनुसार, जिल्ला प्रशासन कार्यालयदेखि श्रम मन्त्रालय र मुख्यमन्त्री कार्यालयसम्म पटक–पटक ध्यानाकर्षण गराए पनि कुनै ठोस पहल नभएको कारण उनीहरू अब आन्दोलनमा जान बाध्य भएका हुन्।

स्वास्थ्यकर्मीहरूको ८ बुँदे मागः
1️⃣ निजी अस्पतालमा नेपाल सरकारको ऐनअनुसार तलब स्केल लागू गर्नुपर्ने।
2️⃣ सरकारी स्वास्थ्य संस्थाका करार कर्मचारी हटाई प्रदेश लोक सेवा आयोगमार्फत नियुक्ति हुनुपर्ने।
3️⃣ सबै स्वास्थ्यकर्मीको बीमा र सुरक्षा सुनिश्चित गर्नुपर्ने।
4️⃣ निजी अस्पतालमा हप्तामा बढीमा ४२ घण्टा मात्र काम गर्नुपर्ने।
5️⃣ स्वास्थ्यकर्मीका परिवारलाई अस्पतालमा निःशुल्क उपचार सुविधा उपलब्ध गराउनुपर्ने।
6️⃣ मन्त्रालयले तोके अनुसार निजी र सरकारी अस्पतालबीच समान विज्ञापनको व्यवस्था गर्नुपर्ने।
7️⃣ प्रत्येक निजी अस्पतालमा विदा, सेवा सुविधा र भत्ताको व्यवस्था हुनुपर्ने।
8️⃣ प्रत्येक वर्ष स्वास्थ्यकर्मीको तलबमा कम्तीमा १० प्रतिशत वृद्धि गर्नुपर्ने।

स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन् कि माग पूरा नभए आगामी कार्तिक १६ गते (आईतवार) देखि सम्पूर्ण स्वास्थ्यकर्मीहरूले अस्पताल खाली गरी शान्तिपूर्ण आन्दोलन सुरु गर्नेछन्।
उनीहरूले भनेका छन् — “आन्दोलनका क्रममा बिरामीलाई कुनै समस्या परे यसको सम्पूर्ण जिम्मेवारी अस्पताल सञ्चालक र सम्बन्धित मन्त्रालयले लिनुपर्नेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?