मुम्बई विमानस्थलमा ठूलो दुर्घटना टरियो, एयर इण्डियाको विमान रनवे पार गर्दै बाहिरियो

13 दिन पहिले प्रकाशित

एजेन्सी, श्रावण ५ गते ।  भारतको आर्थिक राजधानी मुम्बईमा सोमबार एक ठूलो हवाइ दुर्घटना हुनबाट जोगिएको छ। केरलको कोच्चीबाट मुम्बई आउँदै गरेको एयर इण्डिया उडान नम्बर AI2744 अवतरणका क्रममा रनवेबाट अगाडि निस्किएको हो। भारी वर्षाका कारण विमान चिप्लिएर रनवे पार गरेको प्रारम्भिक जानकारी छ।

विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल छन्। उडान सफल रूपमा गेटसम्म पुगेको र सबैलाई सुरक्षापूर्वक विमानबाट बाहिर निकालिएको एयर इण्डियाका प्रवक्ताले जनाएका छन्।

भारतको नागरिक उड्डयन नियामक निकाय DGCA (डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन) ले घटनास्थलमा टोली खटाएर स्थिति मूल्याङ्कन गर्न थालेको छ। सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर विमानलाई थप परीक्षणका लागि रोकिएको छ।

छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल (CSMIA) का प्रवक्ताले जानकारी दिएअनुसार विमानस्थलको मुख्य रनवे 09/27 मा सानो क्षति पुगेको छ। त्यसैले अहिले वैकल्पिक रूपमा द्वितीयक रनवे 14/32 प्रयोगमा ल्याइएको छ। विमानस्थलको सामान्य सञ्चालन भने यथावत् रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?