जनकपुरधामको सडकमा गाडीको चाप बढ्दै, पार्किङको व्यवस्था जस्ताको त्यस्तै
1 महीना पहिले प्रकाशित

संतोष कुमार मिश्र
जनकपुरधाम, श्रावण ४ गते । शहरको जनसंख्या बढ्दो छ, त्यससँगै सवारीसाधनको संख्यामा समेत उल्लेख्य वृद्धि भइरहेको छ । मिथिलाञ्चलको सांस्कृतिक राजधानी मात्रै नभई मधेश प्रदेशको राजधानी समेत रहेका जनकपुरधाममा गाडीहरूको चाप दिनप्रतिदिन बढ्दै गईरहेका छन् । निजी सवारीसाधन, स्कुल बस, अटो, टेम्पो, मोटरसाइकलदेखि लिएर ठूला तथा साना सवारीसाधनहरुको संख्या अत्यधिक मात्रामा वृद्धि हुँदै गए पनि पार्किङको व्यवस्था भने पुरानै अवस्थामा जस्ताको त्यस्तै देखिन्छन् । हाल बजार क्षेत्रमा उपलब्ध पार्किङ अस्थायी, अपुरो र अव्यवस्थित छन् । जनकपुरधामको मुख्य बजार क्षेत्र जानकी मन्दिर, राम मन्दिर, सोनारपट्टी, महावीर चौक, जनक चौक, शिव चौक, भानु चौक, मिल्स एरिया, रेलवे स्टेशन आसपासका सड़कहरुमा बिहानदेखि बेलुकीसम्म खासगरी विहान १० बजे र बेलुका ४ बजे पछि गाडीहरुको चापले सडकहरू अस्तव्यस्त हुन्छन् । साँघुरा सडक, अनियन्त्रित पार्किङ र ट्राफिक नियमको पालना नगर्नुजस्ता कारणले गर्दा सर्वसाधारणलाई दैनिकजसो सास्ती भोग्नु परेको छ । सार्वजनिक स्थानहरूमा पार्किङको स्पष्ट व्यवस्था नहुनु, फुटपाथ र सडक छेउमै गाडी रोकिनु तथा अटो र टेम्पो र ई–रिक्साहरू जुनसुकै ठाउँमा जथाभावी पार्क गरिने, सडकको बीचमै रोकिने र यात्रुहरूलाई ओसारपसार गर्ने हुँदा शहरको आवागमन बाधित हुन्छ ।
त्यसमाथि पैदलयात्रीहरूका लागि बनाइएको फुटपाथसमेत अतिक्रमणमा परेका छन् । अधिकांश व्यवसायिक भवनहरूले पार्किङ नबनाई सिधै सड़कमा गाड़ी राख्नुपर्ने अवस्थाले पनि यो समस्या जटिल बनाएको छ । सरकारी कार्यालयहरू, स्कुल, अस्पताल, बैंक तथा होटलहरूसमेत आफ्नै पार्किङ नहुँदा सबैजसो गाडी सडकमै राखिन्छ । जसले गर्दा जनकपुरधामको यातायात प्रणाली थप जटिल बन्दै गएको देखिन्छ । पार्किङ समस्याले केवल यात्रु मात्र होइन, स्थानीय व्यापारी, कार्यालयहरू र बासिन्दाहरूलाई समेत सास्ती दिइरहेको छ । व्यवसायीहरूले गुनासो गर्छन् कि ग्राहकहरू गाडी राख्न नपाएर फर्कन्छन् । एक स्थानीय व्यवसायी भन्छन्, “हामी बिहानदेखि बेलुकीसम्म जामको बीचमा व्यापार गर्दैछौं । ग्राहकलाई सामान लिन आउन समस्या छ, र हामी आफैं पनि पार्किङ नपाएर हैरान छौं ।” त्यस्तै, आपतकालीन सेवाहरू (जस्तै एम्बुलेन्स) समेत सवारी जाममा पर्न बाध्य छन् । नगरपालिका तथा सम्बन्धित निकायले पार्किङस्थलको ठोस व्यवस्थामा खासै प्रगति देखिएको छैन । जसले गर्दा स्थानीय व्यवसायी र नागरिकहरूलाई पार्किङले गर्दा समस्यामा पारेका छन् ।
“स्थानीय व्यपारीहरुलाई व्यापार गर्न पनि गाह्रो भएको छ, ग्राहकहरू गाडी राख्ने ठाउँ नपाएर फर्कन्छन्,“ स्थानीय व्यवसायी बताउँछन् । यदि यही अवस्था कायम रह्यो भने जनकपुरधामको ऐतिहासिक र धार्मिक पर्यटकीय छवि समेत प्रभावित हुने चिन्ता बढ्दो छ । जनकपुरधामको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व अझ उजागर गर्नका लागि जनकपुरधामलाई यातायात र पार्किङ व्यवस्था सुधार अत्यावश्यक छ । अहिलेको अवस्था दीर्घकालसम्म रहिरह्यो भने यो केवल जनजीवनमा असर पु¥याउने मात्र होइन, जनकपुरधामको समग्र छविमा समेत धक्का लाग्न सक्छ । प्रदेश सरकार तथा नगरपालिकाले योजना बनाउने मात्र होइन, ती योजना कार्यान्वयनमा लैजान पनि समान जिम्मेवारी र तत्परताका साथ अघि बढ्न आवश्यक छ । तसर्थ समाधानस्वरूप दीर्घकालीन योजना अन्तर्गत व्यवस्थित पार्किङ भवन निर्माण, एकतर्फी सवारी व्यवस्थापन, र ट्राफिक सचेतनामूलक अभियान आवश्यक देखिन्छ ।
कमेन्ट गर्नुहोस्
view comments