मुख्यमन्त्रीको निर्देशनमा सप्तरीमा ट्याङ्करबाट खानेपानी आपूर्ति, वीरगन्जमा दमकलले वितरण
1 महीना पहिले प्रकाशित

जनकपुरधाम, श्रावण ४ गते । सप्तरीमा घट्दो जलस्रोतका कारण उत्पन्न भएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिएका छन्। उहाँले डिभिजन वन कार्यालयको एउटा र प्रदेश सरकारको दुई वटा ट्याङ्करमार्फत प्रभावित क्षेत्रमा पानी आपूर्ति गर्न प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई निर्देशन दिएका हुन्। यसअघि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सुक्खाका कारण कृषक र आम नागरिक संकटमा परेको भन्दै संघ तथा प्रदेश सरकारसँग राहत र दीर्घकालीन समाधानको माग गरेको थियो।
वीरगन्जमा पनि खानेपानी संकट चुलिँदै जाँदा प्रदेश सरकारले पठाएका दमकलमार्फत नेपाली सेनाले प्रभावित टोल–टोलमा पानी वितरण गर्न थालेको छ। श्रीजङ्ग गणले बिहान ५ बजेदेखि राति १० बजेसम्म वडागत रुपमा वितरण गर्दै आएको छ। पर्सा जिल्ला प्रशासन, महानगरपालिका र नेपाली सेनाको समन्वयमा वीरगन्ज र बहुदरमाईका विभिन्न वडामा पानी पुर्याइएको छ। स्थानीय बासिन्दाहरूले राहत महसुस गरे पनि समस्या दीर्घकालीन समाधान नभएसम्म चिन्ता कायमै रहेको बताएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले हटलाइन नम्बर सार्वजनिक गरी तत्काल पानी आपूर्तिको व्यवस्था मिलाइरहेको जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments