बर्दिबास करदाता सेवा कार्यालय आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति, सेवा क्षेत्र थप विस्तार

1 महीना पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २ गते । बर्दिबासमा रहेको करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति गरिएको छ। जनकपुर आन्तरिक राजस्व कार्यालयका प्रमुख आनन्दप्रसाद गुप्ताले उद्घाटन गरेको नयाँ कार्यालयले अब महोत्तरी, धनुषा, सिन्धुली र सर्लाही जिल्लाका करदातालाई सेवा दिनेछ। स्तरोन्नतिसँगै अब बर्दिबास र जनकपुर दुबै कार्यालयको हैसियत समान भएको छ। कार्यालय प्रमुख गेहेन्द्रप्रसाद गिरीका अनुसार यसअघि ४५ हजार करदाता रहेको यो कार्यालयमा करिब डेढ लाख नयाँ करदाता थपिने अनुमान गरिएको छ।

स्थानीय समाजसेवी पोषण थापाले कर कार्यालयको स्थापनाका लागि ०७२ सालदेखि सुरु गरिएको अभियान आज साकार भएको बताएका छन्। ०६८ सालमा बर्दिबासमा भएको आन्दोलनबाट सुरु भएको पहलले करदाता सेवा कार्यालय स्थापनासँगै अब आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति भएको छ। यससँगै बर्दिबाससहित गौशाला, लालबन्दी, हरिवन, सिन्धुली र अन्य भेगका करदाताले सेवा पाउन राजधानी धाउनुपर्ने झन्झट हट्ने उद्योग वाणिज्य सङ्घका अध्यक्षहरुले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?