सर्लाहीमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु, चालक दम्पती घाइते

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ३२ गते ।  सर्लाहीको मलंगवा–नवलपुर सडकखण्ड अन्तर्गत कबिलासी–१० पिडार चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बिहान साढे १० बजे प्र.२–०३–०१४ प १२१४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी ५० वर्षीय पुरुष गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतकको सनाखत अझै हुन सकेको छैन।

दुर्घटनामा मोटरसाइकल चालक कबिलासी–८ का २२ वर्षीय रुपेश राय र उनकी पत्नी २० वर्षीया पिंकीदेवी राय पनि घाइते भएका छन्। चालक रायको ओठ चुँडिनुका साथै दाँत भाँचिएको छ भने पत्नीको गालामा चोट लागेको छ। दुवैको अवस्था खतरामुक्त रहेको जनाइएको छ। तीव्र गति नै दुर्घटनाको कारण भएको प्रहरीको प्रारम्भिक अनुमान छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको सर्लाही प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?