मधेशमा खानेपानी संकट समाधानका लागि प्रदेश सरकारको वारुणयन्त्र परिचालन, सेना पनि सक्रिय
1 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ३२ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशभर फैलिएको खानेपानी संकट समाधानका लागि प्रदेश सरकार पूर्ण रूपमा सक्रिय रहेको बताएका छन्। विशेषगरी पर्साको वीरगञ्जसहितका क्षेत्रहरूमा देखिएको संकटलाई सम्बोधन गर्न आज बिहान प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्र प्रभावित क्षेत्रमा पठाइएको छ। ती यन्त्रहरू प्रत्येकमा ५ हजार लिटर क्षमताका छन्, जसले एकपटकमा ४० हजार लिटर पानी वितरण गर्न सक्ने छन्। मुख्यमन्त्री सिंहले पानी बोकेर जाने वारुणयन्त्रलाई एक कार्यक्रमबीच विदाई गर्दै नेपाली सेनालाई २४सै घण्टा प्रभावकारी रूपमा परिचालन गर्न निर्देशन पनि दिएका छन्।
यसअघि पनि प्रदेश सरकारले वन कार्यालयका तीन वटा ट्याङ्कर वीरगञ्जमा खटाइसकेको छ भने नेपाली सेनाबाट थप ७ वटा ट्याङ्कर र एउटा वारुणयन्त्र पठाउने तयारी गरिएको छ। मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले प्रदेश सरकारले संघीय सरकार, स्थानीय सरकार तथा दातृ निकायसँग सहकार्य गर्दै स्रोत साधनको अधिकतम प्रयोगमार्फत नागरिकको समस्या समाधानमा जुटेको स्पष्ट पारे। पठाइएका वारुणयन्त्रहरूले प्रभावित वडाहरूको घर–घरमा खानेपानी पुर्याउने योजना छ।
कमेन्ट गर्नुहोस्
view comments