साझेदारी वनको संरक्षणका लागि बर्दिबास घोषणापत्र जारी, मधेश प्रदेशमा वैज्ञानिक वन व्यवस्थापनको प्रतिबद्धता

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ३१ गते । बर्दिबासमा आयोजित दुई दिने गोष्ठीबाट मधेश प्रदेशका वनजङ्गलको संरक्षण र दिगो व्यवस्थापन सुनिश्चित गर्न २१ बुँदे ‘बर्दिबास घोषणापत्र’ जारी गरिएको छ। महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका १७ साझेदारी वनका प्रतिनिधिहरू तथा वन विज्ञहरूको सहभागितामा सम्पन्न दोस्रो प्रादेशिक कार्यशाला गोष्ठीले घोषणापत्रमार्फत नीति सुधार, वैज्ञानिक वन व्यवस्थापन, पारदर्शिता र जवाफदेहिताको सिद्धान्तमा आधारित व्यवस्था स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।

घोषणापत्रमा वन ऐन र नियमावली परिमार्जनको आवश्यकता औँल्याउँदै वन अतिक्रमण रोक्ने, वन पैदावार उत्पादन वृद्धि गर्ने र संरक्षणका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा जोड दिइएको छ। गोष्ठीको समापन समारोहमा वन तथा वातावरण मन्त्री सञ्जयकुमार यादवले साझा प्रयास र सकारात्मक सोचले मात्र वन संरक्षण सम्भव हुने उल्लेख गर्दै कर्मचारी सरुवा प्रक्रियालाई नियमित र पारदर्शी बनाउने आवश्यकता औँल्याए। प्रदेश वन निर्देशक जगन्नाथप्रसाद जयसवालले घोषणापत्रलाई कार्यान्वयन योग्य मार्गदर्शक दस्तावेजका रूपमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?