वातावरणीय संकटमा नागरिक, दातृ निकायलाई खुलेर सहयोग गर्न मुख्यमन्त्री सिंहको अनुरोध
2 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ३१ गते । मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशमा बढ्दो सुख्खा र खानेपानी संकट समाधानका लागि प्रदेश सरकारले आन्तरिक स्रोत साधन सक्रिय रूपमा परिचालन गर्ने बताएका छन्। मंगलबार बिहान सरोकारवाला मन्त्रालयहरू र दातृ निकायहरूसँगको बैठकमा मुख्यमन्त्री सिंहले सामूहिक प्रयास आवश्यक भएको बताउँदै संघीय सरकार र दातृ निकायहरूलाई तत्काल तथा दीर्घकालीन समाधानका उपायमा सक्रिय सहभागिताको आग्रह गरे।
प्रदेशका १३६ वटै पालिकामा सुख्खा र पानीको समस्या गहिरिंदै गएको भन्दै मुख्यमन्त्रीले नागरिकलाई छिटो राहत मिल्ने गरी तत्काल कार्य सुरु गर्न निर्देशन दिए। "बैठक र निर्णय मात्र होइन, अब के गर्न सकिन्छ तुरुन्तै सुरु गरौं," उनले भने। वर्तमान अवस्थामा धान रोपाइँ प्रभावित हुनाले खाद्यान्न संकटको जोखिम रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले सम्बन्धित मन्त्रालयहरूलाई समस्या पहिचान गरी कार्यान्वयनमा लाग्न निर्देशन दिए।
मुख्यमन्त्री सिंहले संघीय सरकारसँग पनि निरन्तर समन्वय भइरहेको जानकारी दिँदै सुख्खा र पानीसम्बन्धी सबै पहलको दैनिक प्रगति प्रतिवेदन पेश गर्न आग्रह गरे। बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, उर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव लगायतका मन्त्रीहरूको उपस्थिति रहेको थियो।
दातृ निकायका प्रतिनिधिहरुले बैठकमा प्रदेश सरकारसँग सहकार्य गर्न तत्परता जनाउँदै आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। मन्त्रालयगत रूपमा प्रस्तुत विवरणमा सुख्खाले निम्त्याएको वर्तमान संकट र सम्भावित असरहरूबारे पनि विस्तृत जानकारी दिइएको थियो।
कमेन्ट गर्नुहोस्
view comments