मधेशमा लंपी भाइरसको संक्रमण तीव्र, जनकपुरधाममा नियन्त्रण प्रयास कमजोर
6 घन्टा पहिले प्रकाशित

संतोष कुमार मिश्रा
जनकपुरधाम, असार २७ गते । मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा लंपी स्किन रोग तीव्र गतिमा फैलिन थालेको छ। विशेष गरी जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका धेरै वडाहरूमा यो भाइरसले पशुहरूमा गम्भीर असर पारिरहेको छ। रोगको संक्रमण पशुहरूबाट एक आपसमा सजिलै सर्न सक्ने भएकाले यसको विस्तार झनै भयावह बन्दै गएको छ।
पशुपालन व्यवसायमा आश्रित किसानहरू अहिले चिन्तित छन्। संक्रमित पशुहरूमा शरीरभर गिर्खा आउने, पाक्ने, घाउ हुने, पिप बग्ने, र उच्च ज्वरो आउने लक्षण देखापरेका छन्। यस रोगले पशुहरूलाई अशक्त बनाउने मात्र होइन, उनीहरूको मृत्यु हुने अवस्था पनि सिर्जना गरिरहेको छ।
विशेषज्ञहरूका अनुसार लंपी स्किन भाइरसले सबैभन्दा बढी दुधालु गाईहरूलाई प्रभावित पार्ने गरेको छ। रोग लागेपछि गाईहरूमा दूध उत्पादन क्षमतामा ५० प्रतिशतभन्दा बढी गिरावट आउने जनाइएको छ। जसका कारण किसानको आम्दानीमा प्रत्यक्ष असर परेको छ।
यति गम्भीर समस्याका बाबजुद जनकपुरधाम उप–महानगरपालिकाले खासै प्रभावकारी कदम चालेको देखिँदैन। विशेष गरी दुर्गम र पहुँचबिहीन क्षेत्रका किसानहरूप्रति पालिकाको चासो अत्यन्तै कमजोर देखिएको छ। धेरै किसानहरू उपचार, खोप तथा जानकारी नपाएर समस्यामा छन्।
संक्रमण नियन्त्रणका लागि आवश्यक खोप, औषधि र पशु चिकित्सकको उपस्थिति सुनिश्चित गरिनुपर्ने आवश्यकता छ। तर हालसम्म जनकपुरधाममा यस्तो कुनै ठोस पहल नगरेको किसानहरूको गुनासो छ। रोग नियन्त्रणका लागि चेतना अभिवृद्धि, तत्काल परीक्षण र खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने माग किसानहरूले राखिरहेका छन्।
यदि समयमै रोग नियन्त्रणमा ध्यान नदिइयो भने लंपी स्किनको संक्रमणले सम्पूर्ण पशुपालन क्षेत्र नै संकटमा पार्न सक्छ। यो केवल किसानको समस्या मात्र नभई सम्पूर्ण दुग्ध आपूर्ति प्रणालीमा असर पार्ने खालको खतरा बनेको छ। त्यसैले सम्बन्धित स्थानीय तहदेखि प्रदेश सरकारसम्मले तुरुन्तै सक्रियता देखाउनुपर्ने देखिन्छ।
कमेन्ट गर्नुहोस्
view comments