देशभर गुरु पूर्णिमा पर्व श्रद्धाका साथ मनाइँदै, वेदव्यासको स्मरणमा व्यास जयन्ती समेत मनाइँदै
21 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २६ गते । आज आषाढ शुक्ल पूर्णिमाका दिन गुरुहरूको सम्मानमा गुरु पूर्णिमा पर्व देशभर श्रद्धा, भक्ति र भक्तिपूर्वक मनाइँदैछ। ज्ञान, दीक्षा र वेद मन्त्र प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता प्रकट गर्दै विभिन्न गुरुकुल, शिक्षालय र संघसंस्थाहरूमा विशेष कार्यक्रम गरिएका छन्।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार "गु" को अर्थ अन्धकार र "रु" को अर्थ प्रकाश हो। ज्ञानरूपी प्रकाशद्वारा अज्ञानरूपी अन्धकार हटाउने व्यक्तिलाई नै गुरु भनिन्छ। शास्त्रहरूमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको रूपमा मानिएको उल्लेख गरिएको छ:
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ।।
‘आचार्यदेवो भव’ भन्ने वाक्यले पनि गुरुलाई देवतासरह मानिएको पुष्टि गर्छ। यही भावनाका साथ विद्यार्थीहरूले आज गुरुजनप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै पुष्प, फल, वस्त्र अर्पण गर्ने परम्परा रहिआएको छ।
यसै दिन व्यास जयन्ती पनि मनाइन्छ। वेदव्यासले ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदलाई वर्गीकरण गरी सरल संस्कृतमा १८ पुराण र १८ उपपुराण रचना गरेका थिए। उनीकै स्मृतिमा आषाढ शुक्ल पूर्णिमाका दिन व्यास जयन्ती मनाइन्छ।
व्यासका उपदेश आज पनि मानवताका लागि प्रेरणादायक मानिन्छन्:
"अष्टादश पुराणेषु व्यासस्य वचनं द्वयम् —
परोपकाराय पुण्याय, पापाय परपीडनम्"
अर्थात् अरूको उपकार गर्नु पुण्य हो भने, अरूलाई पीडा दिनु पाप हो। महाभारतजस्ता कालजयी काव्यका रचयिता व्यासको योगदानको स्मरण गर्दै आज देशभर विशेष पूजाआर्जना, प्रवचन, सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरू आयोजना गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments