राजविराजमा आगलागी: तीन घर जलेर दुई लाख ५० हजारको क्षति
21 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २६ गते । सप्तरीको राजविराज नगरपालिका–९ स्थित मलेठ टोलमा बिहीबार बिहान आगलागी हुँदा तीन घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। घटनामा अन्नपात, लत्ताकपडा, भाडावर्तन र नगदसहित करीब दुई लाख ५० हजार रुपैयाँ बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
स्थानीय पुलकित खंगको घरमा बिहान १० बजेतिर खाना पकाउने क्रममा चुलोबाट अचानक आगो सल्किएर आगलागी भएको हो। आगोले तीनवटा घरमा क्षति पु-याउनुका साथै घरभित्र रहेका सामाग्री जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार आगलागीबाट नगद ४० हजार रुपैयाँ, काठ, लत्ताकपडा, भाडावर्तन र खाद्यान्न सहित उल्लेख्य क्षति भएको छ। "चुलोबाट सल्किएको आगो तत्कालै फैलिँदा ठूलो क्षति भएको हो," उहाँले बताउनुभयो।
घटनापछि प्रहरी उपरीक्षक गौतमकुमार केसीको नेतृत्वमा खटिएको नेपाल प्रहरीको टोली, स्थानियबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो।
प्रहरीले आगलागीको थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रभावित परिवारलाई स्थानीय तह तथा सम्बन्धित निकायमार्फत राहत उपलब्ध गराउने तयारी भइरहेको छ।
कमेन्ट गर्नुहोस्
view comments