एजेन्सी, असार २५ गते । गुजरातको आणंद र वडोदरा जिल्लालाई जोड्ने गंभीरा पुल बुधबार बिहान अचानक भत्किँदा ठूलो जनधनको क्षति भएको छ। महिसागर नदीमाथि बनेको पुल भत्किएपछि चार वटा सवारी नदीमा खसेका छन्। दुर्घटनामा हालसम्म ९ जनाको मृत्यु भइसकेको छ भने आधा दर्जन भन्दा बढीको उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ।
वडोदरा कलेक्टर डा. अनिल धामेलियाले घटनास्थलबाट हालसम्म ९ शव नदीबाट निकालिएको जानकारी दिएका छन्। घाइतेहरूलाई वडोदराको एसएसजी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
स्थानीय समय अनुसार बिहान करिब ७:३० बजेको समयमा लगातारको भारी वर्षाका कारण पुलको बीच भाग भत्किँदा दुई ट्रक, एक बोलेरो जीपसहित चार सवारी साधन नदीमा खसेका थिए। त्यसमध्ये एक ट्यांकर दुर्घटनाबाट जोगिएको थियो।
घटनापछि प्रशासन, दमकल तथा आपदा उद्धार टोली घटनास्थलमा पुगेका छन्। गोताखोरहरूको सहयोगमा अझै नदीमा खोजी तथा उद्धार कार्य जारी छ। राज्य सरकारका प्रवक्ता मन्त्री ऋषिकेश पटेलले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पुलको पूर्वमा मर्मत गरिएको दाबी गरेका छन्।
विपक्षी दल कांग्रेसले घटनापछि राज्य सरकारप्रति आक्रोश व्यक्त गरेको छ। नेता अमित चावड़ाले सामाजिक सञ्जालमार्फत घटनाप्रति चिन्ता व्यक्त गर्दै तत्काल वैकल्पिक यातायातको व्यवस्था र प्रभावकारी उद्धारको माग गरेका छन्।
त्यस्तै आम आदमी पार्टीका प्रदेश अध्यक्ष इसुदान गढवीले यो "दुर्घटना होइन, मानव निर्मित घटना" भएको आरोप लगाएका छन्।
महिसागर नदीमाथि रहेको यो गंभीरा पुल ४५ वर्ष पुरानो थियो। यो पुल मध्य गुजरातलाई सौराष्ट्रसँग जोड्ने मुख्य सञ्जालको हिस्सा हो। स्थानीयवासीले वर्षौंदेखि पुल जीर्ण भइसकेको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए।
पुल भत्किएको घटनाले सार्वजनिक पूर्वाधारको निरीक्षण र मर्मतमा गम्भीर लापरबाही भएको देखाएको छ। यस घटनाले राज्य सरकारमाथि प्रश्न उठाएको छ र भविष्यमा यस्ता दुर्घटना टार्न दीर्घकालीन योजना आवश्यक रहेको संकेत दिएको छ। उद्धार कार्य अझै जारी छ।
कमेन्ट गर्नुहोस्
view comments