बाराका किसानद्वारा ९१ हजार मेट्रिक टन चैते धान उत्पादन, मूल्यमा गिरावट

6 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २५ गते ।  बाराका किसानले यस वर्ष ९१ हजार ८ सय मेट्रिक टन चैते धान उत्पादन गरेका छन्। कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहका अनुसार किसानहरूले १८ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका चैते धान खेती गरेका हुन्।

उत्पादनमा वृद्धि भए तापनि बजार मूल्यमा भने गिरावट आएको छ। किसानले उत्पादन गरेको धान कलैयाको बजारमा प्रतिक्विन्टल रु २ हजार २०० मा बिक्री गरिरहेका छन्। गत वर्ष यो दर प्रतिक्विन्टल रु ३ हजार थियो।

कृषि अर्थविज्ञ गणेश महराका अनुसार गत वर्ष किसानहरूले १६ हजार हेक्टर क्षेत्रमा चैते धान खेती गरेका थिए। यस वर्ष खेतीयोग्य क्षेत्र विस्तार भएसँगै उत्पादनमा पनि उल्लेख्य वृद्धि भएको हो।

किसानहरू उत्पादनमा सन्तुष्ट देखिए पनि मूल्य घटेका कारण अपेक्षित आम्दानी नहुने गुनासो गरिरहेका छन्। स्थानीय सरकार र सम्बन्धित निकायले बजार स्थिरता कायम गर्न पहल गर्नुपर्ने आवाज उठ्न थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?