लहान नगरपालिकाका तीन वडामा अस्थायी प्रहरी चौकीको नयाँ भवन उद्घाटन, स्थायीत्वकाे माग

5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २५ गते ।  सिरहा जिल्लाको लहान नगरपालिका वडा नम्बर १३, १४ र २४ मा स्थापना गरिएको अस्थायी प्रहरी चौकीको नयाँ पक्की भवन आज उद्घाटन गरिएको छ। नगरप्रमुख महेशप्रसाद चौधरी र मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले संयुक्त रूपमा भवनको उद्घाटन गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा नगरप्रमुख चौधरीले समुदाय–प्रेरित यो भवन निर्माण कार्यलाई नमुना सहयोगको उदाहरण भन्दै सराहना गर्नुभयो। उहाँले भन्नुभयो, “स्थानीय आश्विनकुमार राउतको अगुवाइमा समुदायबाट चन्दा सङ्कलन गरेर दुई कठा जग्गा खरिद गरिएको हो। लहान नगरपालिकाले पनि दुई लाख रुपैयाँ सहयोग गरेको छ।” उहाँले भवनको सबै पूर्वाधार पूरा भएकाले यस अस्थायी प्रहरी चौकीलाई अब स्थायी चौकीको रूपमा स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

प्रहरी प्रमुख चतुर्वेदीले यस क्षेत्रको सामाजिक अपराध नियन्त्रणमा अस्थायी चौकीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै चौकीको स्तरोन्नति तथा प्रहरी जनशक्ति थप गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। “यो स्थान तीन वडाको सङ्गमस्थल हो, अब चौकी स्थायी बनाउने चरणमा पुगिसकेको छ,” उहाँले भन्नुभयो।

स्थानीय स्तरमा शान्ति सुरक्षा चुनौतीपूर्ण हुँदै गएका कारण २०६७ सालमा वडावासीहरूले तत्कालीन गृहमन्त्री डा. भीम रावलसमक्ष माग प्रस्तुत गरेका थिए। त्यसपछि अस्थायी प्रहरी चौकी स्थापना गरिएको थियो। चौकी स्थापना नभएको भए पहाडे समुदाय विस्थापित हुन सक्ने अवस्था रहेको स्मरण गर्दै भवन निर्माण समितिका अध्यक्ष आश्विनकुमार राउतले भने, “आज हामीले त्यो चौकीलाई पक्की भवनसहित हस्तान्तरण गर्न पाउँदा गौरव अनुभव गरेका छौँ।”

समुदायको अग्रसरता, स्थानीय सरकारको सहयोग र सुरक्षाप्रति बढ्दो चेतनाले अब लहानका तीनै वडामा स्थायी प्रहरी चौकी स्थापनाको बाटो खुलेको स्थानीयबासीले विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?