गौशाला नगरपालिकाको कागजात अख्तियारको नियन्त्रणमा, योजनामा अनियमितताको आशंका

6 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २३ गते । महोत्तरीको गौशाला नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विभिन्न योजना र कामसँग सम्बन्धित कागजातहरू नियन्त्रणमा लिएको छ। आइतबार साँझ आयोगको टोलीले कार्यालयमै पुगेर चालु आर्थिक वर्षमा सञ्चालित योजनाका सक्कल कागजातहरू संकलन गरेको हो। साँझ ५ बजेबाट सुरु भएको सो प्रक्रिया राति ८ बजेसम्म चल्यो, जसमा आयोगले कर्मचारीहरूसँग सोधपुछ गर्दै कागजात संकलन गरेको आयोग बर्दिबास कार्यालयले जनाएको छ।

कर्मचारीहरूका अनुसार गौशाला बहुमुखी क्याम्पसलाई दिइएको अनुदान, बजार ठेक्का, वडास्तरीय तालिम, खेलकुद, सडक निर्माण तथा उपभोक्ता समितिमार्फत भएका कार्यहरूको फाइल अख्तियारले नियन्त्रणमा लिएको छ। नगरपालिकामा हाल नगर प्रमुख डा. दिपेन्द्र महतो र उपप्रमुख रेणु कुमारी महतोबीचको विवाद चुलिएको अवस्थामा अख्तियारको प्रवेश भएको हो। यसअघि उपप्रमुखले दर्ता चलानी पुस्तिका आफैँ नियन्त्रणमा लिएर अख्तियारमा बुझाएपछि नगर प्रमुखले उनको कार्यकक्षमा ताला लगाएको घटनाले पनि स्थानीय प्रशासनिक द्वन्द्वलाई उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?