कल्भर्ट निर्माणस्थलमा करेन्ट लागेर मजदुरको मृत्यु, एक घाइते

5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २३ गते । मधेश प्रदेशको औरही नगरपालिका–७ मा निर्माणाधीन सडकको कल्भर्टमा कार्यरत एक मजदुरको करेन्ट लागेर ज्यान गएको छ भने अर्का मजदुर घाइते भएका छन्। रामगोपालपुर नगरपालिका–५ कञ्चनपुरका ३२ वर्षीय छट्टु मुखियाको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। भौतिक पूर्वाधार मन्त्रालयको योजनाअन्तर्गत निर्माण भइरहेको कल्भर्टमा काम गर्दैगर्दा सडक छेउको ११ हजार केभीए क्षमताको विद्युत् लाइन अचानक चुँडिएर खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए।

उक्त घटनामा अर्का मजदुर किसन मण्डल पनि करेन्टको प्रभावमा परी घाइते भएका छन्, तर उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मृतक मुखियाको शव परीक्षणका लागि जलेश्वरस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ। प्रहरीले घटनास्थलको मुचुल्का तथा पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?