पर्साको ठोरी गाउँपालिका जिल्लाकै पहिलो साक्षर पालिका घोषणा
15 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २२ गते । पर्सा जिल्लाको ठोरी गाउँपालिका जिल्लाकै पहिलो साक्षर पालिकाका रूपमा घोषणा गरिएको छ। पालिकामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका १५ हजार ६७८ जनामध्ये ९८.८६ प्रतिशत अर्थात् १५ हजार ३२१ जना महिला र पुरुषले सरकारद्वारा निर्धारण गरिएका १२ सूचकहरूमध्ये कम्तीमा आठवटा सूचक बताउन सकेपछि साक्षरता हासिल गरेको हो। गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले यो उपलब्धि अथक प्रयास र समर्पणको नतिजा भएको बताउँदै आगामी दिनमा अन्य रचनात्मक काममा पनि ठोरीले उदाहरणीय काम गर्ने आश्वासन दिए।
साक्षरताको सर्भे आसमान नेपालको समन्वयमा पालिकाका पाँचवटै वडामा घरघरमै पुगेर गरिएको थियो। शिक्षा शाखा प्रमुख भुपाल जोशीका अनुसार सूचक पूरा गरेपछि औपचारिक रूपमा साक्षर पालिका घोषणा गरिएको हो। पर्सा जिल्लाका १४ पालिकामध्ये ठोरी पहिलो साक्षर पालिका बनेको हो भने मधेस प्रदेशभर यो सातौँ हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र जिल्ला समन्वय समितिका प्रमुख निरञ्जनप्रसाद साह सोनारले ठोरीको पहलले अन्य पालिकालाई पनि साक्षरताको बाटोमा अघि बढ्न प्रेरणा दिएको बताए।
कमेन्ट गर्नुहोस्
view comments