वन संरक्षण सरकारको मात्र दायित्व होइन : मन्त्री यादव

14 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २२ गते । मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले वन र वातावरण संरक्षणमा सरकार मात्रले पुग्ने नभई सञ्चारकर्मी, नागरिक समाज र आम नागरिकको पनि सक्रिय भूमिका आवश्यक हुने बताएका छन्। शनिबार धनुषाको लालगढमा आयोजित अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै उनले चुरे क्षेत्रको संरक्षण र वन जोगाउन सबै पक्षको सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरे। सरकारको आलोचना मात्रै गरेर समाधान नहुने बताउँदै उनले सञ्चार माध्यमहरूलाई जनचेतना अभिवृद्धिमा अझ बढी भूमिका निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले प्रदेशमा हाल ५,६८२ हेक्टरभन्दा बढी वनभूमि अतिक्रमणमा परेको जानकारी गराउँदै समस्या गम्भीर बन्दै गएको उल्लेख गरे। उनले अतिक्रमण हटाउने कार्ययोजना अनुसार काम अघि बढिरहेको र यसमा प्रशासनिक संयन्त्र मात्र नभई राजनीतिक तहबाट पनि सहयोग अपरिहार्य रहेको बताए। कार्यक्रममा पत्रकार अनिलकुमार कर्णले सञ्चारकर्मीहरूले वन तथा वातावरणसम्बन्धी विषयलाई समाचारमा प्राथमिकताका साथ समेट्नुपर्ने आवश्यकता औँल्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?