अमरनाथ यात्रा दौरान उत्तर प्रदेशका तीर्थयात्रीको मृत्यु, ६,४०० जनाको अर्को जत्था जम्मुबाट कश्मीरतर्फ प्रस्थान

3 दिन पहिले प्रकाशित

एजेन्सी, असार २० गते ।  दक्षिण कश्मीरको हिमालय क्षेत्रमा अवस्थित अमरनाथ गुफा मन्दिरका लागि तीर्थयात्रा जारी छ। यसैबीच शेषनाग आधार शिविरमा एक दुखद घटना घट्यो। उत्तर प्रदेशका एक तीर्थयात्री अचानक बेहोस भई ढलेपछि उनको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार मृतक तीर्थयात्रीको पहिचान लखीमपुर खीरी निवासी दिलीप श्रीवास्तवको रूपमा भएको हो।

श्रीवास्तव अमरनाथ यात्राको क्रममा शेषनाग शिविरमा अचानक ढलेपछि उनलाई तुरुन्तै शिविरको अस्पताल लगिएको थियो, तर चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। अधिकारीहरूले जानकारी दिएका छन् कि उनलाई बचाउन सकिने सबै प्रयास गरिए तापनि सफल हुन सकिएन।यस घटनासँगै, शुक्रबार जम्मुको भगवती नगर आधार शिविरबाट ६,४०० भन्दा बढी तीर्थयात्रीहरू अमरनाथ गुफातर्फ प्रस्थान गरेका छन्। यो जत्था जम्मुबाट दुई फरक–फरक काफिलामा बालटाल र पहलगाम मार्ग हुँदै पठाइएको थियो।

अधिकारीहरूले जनाएअनुसार, तीर्थयात्रीहरू ३८ दिन लामो वार्षिक अमरनाथ यात्रा अन्तर्गत ३,८८० मिटर उचाइमा अवस्थित पवित्र गुफा मन्दिरमा दर्शन गर्न गइरहेका छन्। हालसम्म करिब १४,००० यात्रुहरूले दर्शन गरिसकेको बताइएको छ।शुक्रबारको जत्थामा ४,७२३ पुरुष, १,०७१ महिला, ३७ बालबालिका र ५८० साधु–साध्वीहरू सहभागी थिए। उनीहरू जम्मा २९१ सवारीसाधनमा सवार थिए।

यी तीर्थयात्रीहरूलाई केन्द्रीय रिजर्भ पुलिस बल (CRPF) को सुरक्षा व्यवस्थामा बिहीबार राति ३:१५ बजे र शुक्रबार बिहान ४ बजे गरी दुई चरणमा पठाइएको थियो। तीमध्ये ३,६२२ तीर्थयात्री ४८ किलोमिटर लामो पारम्परिक पहलगाम मार्ग हुँदै यात्रा गर्दै छन् भने २,७८९ जनाले छोटो तर कठिन १४ किलोमिटर लामो बालटाल मार्ग रोजेका छन्।बुधबारदेखि हालसम्म जम्मु आधार शिविरबाट जम्मा १७,५४९ तीर्थयात्रीहरू कश्मीर उपत्यतितर्फ गइसकेका छन्। यात्रा बुधबार उपराज्यपाल मनोज सिन्हाले झन्डा देखाएर सुरु गरेका थिए।

२२ अप्रिलमा पहलगाममा भएको आक्रमणमा २६ जनाको मृत्यु भए तापनि यात्रा कडा सुरक्षा व्यवस्थाबीच सामान्य रूपमा चलिरहेको छ। जम्मुको भगवती नगर शिविरलाई बहु-स्तरीय सुरक्षा घेरामा राखिएको छ। अहिलेसम्म ३.५ लाखभन्दा बढी व्यक्तिले अनलाइन मार्फत अमरनाथ यात्राको लागि दर्ता गराइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?