धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, ६ सुरक्षाकर्मी घाइते
23 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २० गते । धनुषाको सीमावर्ती क्षेत्र बिदेह नगरपालिका–२, दुहबीमा सशस्त्र प्रहरी बल र तस्कर समूहबीच भीडन्त भएको छ। बिहीबार साँझ तस्करीका सामान नियन्त्रणमा लिने प्रयासका क्रममा तस्कर समूहले आक्रमण गरेपछि स्थिति तनावपूर्ण बनेको हो। झडपमा सशस्त्र प्रहरी बलका डिएसपी दिनेश शर्मालगायत ६ जना सुरक्षाकर्मी घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बल धनुषाका प्रमुख एसपी निर्मल खड्काका अनुसार तस्कर समूहले भारतीय सीमाबाट नेपालतर्फ तस्करी सामग्री ल्याउने प्रयास गरिरहेका थिए। सो सामग्री नियन्त्रणमा लिने क्रममा एक्कासी सुरक्षाकर्मीमाथि आक्रमण भएपछि आत्मरक्षाको लागि १२ राउन्ड अश्रुग्यास र ४ राउन्ड गोली हवाइ फायर गरिएको थियो। भिडन्तपछि तस्कर समूह घटनास्थलबाट फरार भएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments