एसीसी यू–१६ इस्ट जोन कप: नेपाल फाइनलमा, मलेसियालाई ९ विकेटले हरायो
13 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार १९ गते । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपालले उपाधि नजिकको यात्रा तय गरेको हो। मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमै १ विकेट गुमाएर पूरा गर्यो। नेपालका परिमार्जन यादवले ३५ बलमा अविजित ५९ रन बनाउँदै अर्धशतक पूरा गरे भने शिवांश बजगाइले पनि नटआउट २३ रनको योगदान दिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाको इनिङ्स नेपाली बलरहरूको धारिलो प्रदर्शनका कारण ९० रनमै सिमित भयो। मलेसियाका मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए भने अन्य खेलाडी दोहोरो अंकमा रन जोड्न असफल भए। नेपालका अभय यादवले १५ रन खर्चेर ४ विकेट लिए भने सुभम खनालले ४ मेडनसहित ३ विकेट लिए। कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले एक–एक विकेट लिए। अब नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग फाइनल खेल्नेछ।
कमेन्ट गर्नुहोस्
view comments