मधेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम बन्द, ९ हजारभन्दा बढी बालिकाको भविष्य अन्योलमा
8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार १९ गते । मधेश प्रदेश सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा-मुद्दती बचत खाता कार्यक्रम यो वर्षबाट बन्द गरिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा अनलाइनमार्फत आवेदन दिएका ९ हजार ४५६ छोरीको बीमा अन्योलमा परेको छ। बैंकले प्रस्ताव गरेको बीमा प्रिमियम रकम उच्च भएको र प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले आवश्यक बजेट स्वीकृति नदिएको कारण सम्झौता हुन नसकेको जनाइएको छ। यसअघि प्रति छोरी ३७ हजार रूपैयाँमा बीमा हुँदै आएकोमा अहिले ग्लोबल आइएमई र प्राइम बैंकले क्रमशः ९७ हजार र ९३ हजार रूपैयाँ प्रिमियम प्रस्ताव गरेपछि प्रक्रिया रोकिएको हो। शिक्षा विकास निर्देशनालयले टेण्डर प्रतिवेदन मन्त्रालयमा पठाए पनि स्वीकृति नआएको र १० करोडको बजेटसमेत फिर्ता गरिएको अधिकारीहरूले बताएका छन्।
यो अभियान अन्तर्गत यसअघि १४ हजार ४५३ छोरीको बीमा भइसकेको थियो भने साइकल वितरण, छात्रामैत्री शौचालय, लोकसेवा तयारी कक्षा तथा नगद पुरस्कारजस्ता कार्यक्रम पनि सञ्चालनमा थिए। तर बजेट अभावका कारण ती कार्यक्रमहरू अघिल्लो वर्षहरूदेखि नै बन्द हुँदै आएका छन्। अहिले शिक्षा बीमा पनि बन्द भएपछि अभियान पूर्णरूपमा ठप्प भएको छ। अभिभावक तथा सरोकारवालाहरूले अभियान पुनः सञ्चालन गर्न दबाव दिइरहेका छन्। बीमा गरिएका छोरीले २० वर्षपछि एसइई उत्तीर्ण गरी मापदण्ड पुरा गरेमा तीन लाख पाउने व्यवस्था छ, तर अबको लागि सरकारले आगामी बजेटमा मात्र एक लाख मात्र विनियोजन गरेको देखिन्छ। मन्त्री तिवारीले रकम अन्य शीर्षकबाट व्यवस्था गरिने बताइए पनि अहिलेसम्म स्पष्ट कार्य योजना सार्वजनिक भएको छैन।
कमेन्ट गर्नुहोस्
view comments