वन संरक्षणमा ऐक्यबद्धताको आह्वान, बर्दीबास घोषणापत्र २०८२ जारी
5 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार १७ गते । मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले चुरे र वनजङ्गल संरक्षणमा स्थानीय समुदायको अग्रसरता अनिवार्य रहेको बताउँदै वातावरण संरक्षण र जलवायु अनुकूलनका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। सोमबार बर्दीबासमा सम्पन्न ‘सामुदायिक वनसम्बन्धी कार्यशाला’ गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सामुदायिक वन उपभोक्ता महासङ्घको सहकार्यमा आयोजित कार्यक्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो। गोष्ठीले सामुदायिक वन सशक्तीकरण, संरक्षण, दिगोपन र समावेशीतासहितका १५ बुँदामा आधारित ‘बर्दीबास घोषणापत्र २०८२’ समेत जारी गरेको छ।
कार्यक्रममा सचिव उद्धव घिमिरे, निर्देशक जगन्नाथप्रसाद जयसवाल लगायतले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि सबै निकायबीच समन्वय अपरिहार्य रहेको धारणा राखे। उनीहरूले आरोप–प्रत्यारोपभन्दा साझा प्रतिबद्धता र सहकार्यबाट मात्रै वन संरक्षणका लक्ष्यहरू हासिल गर्न सकिने बताए। गोष्ठीमा फेकोफन र सामुदायिक वन समितिका प्रतिनिधिहरूले हालका समस्या, चुनौती र विसङ्गतिहरू समाधानका लागि वन मन्त्रालयलाई ध्यानाकर्षण गराएका थिए। मधेश प्रदेशमा हाल ५४५ सामुदायिक वन र १४ साझेदारी वन गरी ८२ हजार ११२ हेक्टर वन क्षेत्र रहेको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments