वैदेशिक रोजगारीका क्रममा सप्तरीका २४ युवा मृत्यु, ५९४ ठगीको सिकार
1 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार १६ गते । विदेशमा रोजगारीको सपना बोकेर गएका सप्तरीका २४ जना युवा अब सम्झनामा मात्र सीमित भएका छन्। खाडी र अन्य देशहरूमा अवसरको खोजीमा गएका तीमध्ये केही शवमा फर्किए भने केही अझै बेपत्ता छन्। चालु आर्थिक वर्ष २०८१/८२ को जेठसम्ममा मात्र सप्तरीबाट १७ हजार १२२ जना विदेशिएका थिए, जसमा १६ हजार ८९३ पुरुष र २२९ महिला छन्। तीमध्ये खडक, तिरहुत र रुपनीका तीन–तीन जना, अन्य पालिकाबाट क्रमशः दुई वा एक जनाका दरले २४ जनाले वैदेशिक भूमिमा ज्यान गुमाएका छन्।
राजविराज नगरपालिकाले सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रममा प्रस्तुत विवरण अनुसार, वैदेशिक रोजगारको नाममा ५९४ जना युवा ठगीमा परेका छन्। तीमध्ये २४१ जनालाई न्याय दिलाउन सफल भएको भन्दै बाँकीका लागि पनि पहल जारी रहेको कार्यक्रम संयोजक राजेन्द्र कुमार यादवले जानकारी दिए। उनका अनुसार, स्वदेशमै रोजगारको अवसर सिर्जना गर्नुपर्ने र विदेशिनै परेमा सीपसहित र सही जानकारीका साथ जानुपर्ने वातावरण बनाउन केन्द्र सरकार र सञ्चारमाध्यमहरूबीच सहकार्य आवश्यक छ।
कमेन्ट गर्नुहोस्
view comments