लाउडस्पीकर बन्द भएपछि नयाँ प्रविधि: मुंबईका ६ मस्जिदले ‘अनलाइन अजान’ मोबाइल एपमा दर्ता
3 दिन पहिले प्रकाशित

एजेन्सी,असार १५ गते । भारतको मुम्बई शहरका ६ मस्जिदहरूले हालै ‘अनलाइन अजान’ मोबाइल एपमा दर्ता गराएका छन्। यस एपमार्फत मुस्लिम समुदायका मानिसहरूले अजान (नमाजको समयको सूचना) मोबाइलमै सुन्न सक्नेछन्। लाउडस्पीकर प्रयोगमा आएको कानुनी नियन्त्रणपछि यो कदम चालिएको हो।माहिम जुमा मस्जिदका मुतवल्ली (प्रबन्धक) फहाद खलील पठानका अनुसार, लाउडस्पीकरको प्रयोगमा कडाइ भएपछि अजान घरमै सुनाउने उद्देश्यले यो एपको प्रयोग सुरु गरिएको हो। उनले भने, “यो प्रविधिले नमाजीहरूलाई आफ्नो मोबाइल फोनमार्फत निर्धारित समयमा अजान सुन्न सहज बनाएको छ।” विशेषगरी रमजान तथा अन्य संवेदनशील समयमा घरमै अजान सुन्ने आवश्यकतालाई यो एपले पूरा गरेको छ।
तमिलनाडुको तिरुनेलवेलीका आईटी विशेषज्ञहरूको टोलीले यो एप निर्माण गरेको हो, जुन एन्ड्रोइड र आइफोन दुवै प्लेटफर्ममा उपलब्ध छ। यसले मस्जिदबाट अजान हुने ठ्याक्कै समयमा मोबाइलमा अजानको अडियो बजाउँछ। मस्जिदका नजिक बस्ने करिब ५०० भन्दा बढी मानिसहरूले केही दिनभित्र एपमार्फत दर्ता गरेका छन्।फहाद पठानले बताएअनुसार, मुम्बई उच्च अदालतले लाउडस्पीकर पूर्ण रूपमा हटाउन भनेको होइन, तर ध्वनि स्तरमा सीमा तोकेको हो— दिनको समयमा ५५ डेसिबल र रातको समयमा ४५ डेसिबल। यही नियमको पालना गर्न मस्जिदहरूले स्वेच्छाले लाउडस्पीकर प्रयोग बन्द गरेर ‘बक्स स्पिकर’ जडान गर्न थालेका छन्।
यस प्रविधिको प्रशंसा गर्दै कांग्रेस पार्टीका नेता आसिफ फारूकीले भने, “नमाज महत्त्वपूर्ण हो, लाउडस्पीकर होइन। नवप्रविधि अपनाउनु सकारात्मक पहल हो।” एपका सहसंस्थापक मोहम्मद अलीका अनुसार, तमिलनाडुमा २५० भन्दा बढी मस्जिदहरू पनि यो एपमा दर्ता भइसकेका छन्। एपमा दर्ताका लागि मस्जिदको प्रमाण, अजान दिने व्यक्तिको आधार कार्ड र आवेदन फारम अनिवार्य हुन्छ।भाजपा नेता किरीट सोमैयाले भने मुम्बईमा लाउडस्पीकर हटाउने अभियान सञ्चालन गरिरहेका छन्। उनका अनुसार यस अभियानकै कारण अनुमति बिना जडान गरिएका करिब १५०० लाउडस्पीकर हटाइएका छन्। मस्जिदहरूले भने टकरावको सट्टा प्रविधिलाई अंगालेर समुदायसँग सम्पर्क कायम राख्ने प्रयास गरिरहेका छन्।
कमेन्ट गर्नुहोस्
view comments