‘मधेशले देशलाई खुवाउने’ अभियानमा अघि बढ्दै प्रदेश सरकार : मुख्यमन्त्री सिंह

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार १५ गते । राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण कृषकहरूलाई शुभकामना दिँदै कृषिलाई प्रदेशको आर्थिक मेरुदण्डका रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता दोहोर्‍याएका छन्। उनले ‘मधेशले देशलाई खुवाउने’ दीर्घकालीन अभियानअन्तर्गत उत्पादन मधेशमा गरी विस्तार देशभर गर्ने रणनीति अनुरूप कृषिजन्य वस्तुको आयात घटाउने र निर्यात प्रवद्र्धन गर्ने नीति सरकारले लिएको बताए। धान उत्पादन सुदृढ बनाउने उद्देश्यले ‘दुई धान बाली प्रवर्द्धन कार्यक्रम’ लागू गरिएको र माटो उर्वरता, सिँचाइ, यान्त्रीकरण तथा विद्युतीकरणमा प्राथमिकता दिइएको उनले उल्लेख गरे।

मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै जलवायुमैत्री प्रविधिको अनुसन्धान र प्रयोगमार्फत धान बालीको दिगो विकासमा सरकार गम्भीर रहेको बताए। उनले आधुनिक खेती प्रणाली, उन्नत बीउ, मल र सिँचाइ सेवामा पहुँच विस्तार गरी कृषकहरूको जीवनस्तर सुधार गर्न सरकार निरन्तर क्रियाशील रहेको जानकारी दिए। ‘राष्ट्रिय धान दिवसले हामी सबैमा खाद्य सुरक्षामा आत्मनिर्भर बन्ने प्रेरणा जागोस्’ भन्दै उनले सम्पूर्ण कृषकप्रति सम्मान व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?