मधेसका किसान उत्साहित : मासु उत्पादनमा व्यावसायिक पशुपन्छीपालन विस्तार

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार १५ गते । मधेस प्रदेशका आठवटै जिल्लामा मासुका लागि व्यावसायिक पशुपन्छीपालन कार्यक्रम सञ्चालनमा ल्याइएको छ, जसबाट हजारौँ किसान लाभान्वित भएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले पूर्व–पश्चिम राजमार्ग र हुलाकी मार्गअन्तर्गतका ८४ स्थानीय तहमा बाख्रा, राँगा, बङ्गुर, हाँस र कुखुराजस्ता जनावर तथा पन्छी पालनमा समूहगत अनुदान कार्यक्रम अघि सारेको हो। हालसम्म ११० किसान समूहमध्ये २० वटा समूहले मासुजन्य पशुपन्छीपालनमा अनुदान प्राप्त गरेका छन्। अनुदान कुल लागतको ४५–५० प्रतिशतसम्म दिइने व्यवस्था छ भने पाँच हजारभन्दा बढी किसान सहभागी छन्।

पशुपन्छीपालनको विस्तारसँगै मासुमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यका साथ बोयर जातका बाख्रालगायत उन्नत जातका पशु पालिँदै छन्। कार्यालयले दैनिक १० हजार किलोमासु उत्पादन हुने अनुमान गरेको छ। साथै, दूध उत्पादनमा पनि आत्मनिर्भरता हासिल गर्ने लक्ष्यअनुरूप ५० वटा समूहले मुर्रा जातका दुधालु भैँसी पाल्न थालेका छन्, जसबाट दिनहुँ २० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। प्रदेशका विभिन्न ३५ स्थानमा निर्माण भइरहेका एकीकृत कृषि सेवा केन्द्रहरूबाट किसानलाई माटो परीक्षणदेखि पशु उपचारसम्मका सेवाहरू उपलब्ध गराउने तयारीसमेत भएको छ। आयोजनाको निष्कर्षमा मधेसको समृद्धि कृषि र पशुपालन व्यवसायीकरणमै रहेको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?