जनमतको आफ्नै सरकारको बजेटप्रति असन्तुष्टि, मधेश प्रदेशमा राजनीतिक तनाव चुलियो

4 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार १३ गते ।मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट विवादित बन्दै गएको छ। सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले नै सार्वजनिक बजेटप्रति गम्भीर असन्तुष्टि जनाउँदै बिहीबार संसदीय दलको बैठकबाट तीनवटा निर्णय गरेको छ। जनमत संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार रेड बुकमा पार्टी सांसद तथा मन्त्रीले सिफारिस गरेका योजनाहरू कटौती गरिएकाले पार्टी केन्द्रीय कार्यालयमा जानकारी पठाउने, अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभा बैठकबारे पत्राचार गर्ने र बजेट संशोधन माग गर्ने निर्णय गरिएको हो।

सार्वजनिक रेड बुकमा व्यापक फेरबदल भएको भन्दै यादवले नेपाली कांग्रेस र एमालेमाथि योजनामाथि हस्तक्षेप गरेको आरोप लगाए। जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारले ल्याएको बजेटमा असहमति जनाउनु आफैंमा गठबन्धनको आन्तरिक समन्वय कमजोर भएको संकेत हो। अर्कोतर्फ, बिहीबारको बैठक अनिश्चितकालका लागि स्थगित गरिएकोमा विपक्षी दलहरूले असन्तोष प्रकट गर्दै आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन्। सभामुख रामचन्द्र मण्डलले मन्त्रिपरिषद् बैठकका कारण बैठक स्थगित गरिएको दाबी गरेका छन् भने सरकारका प्रवक्ता राजकुमार लेखीले नीति तथा कार्यक्रमअनुसार बजेट नआएको स्वीकार्दै गठबन्धनको बैठकबाट सत्य तथ्य स्पष्ट हुने बताएका छन्।

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?