एक साताभित्र वीरगन्ज आइपुग्ने ३० हजार टन युरिया मल, बर्खे धानका लागि आपूर्ति सुनिश्चित हुँदै

4 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार १३ गते । बर्खे धान बालीलाई ध्यानमा राखी भारत सरकारसँग जीटुजी (सरकार–सरकार) प्रक्रियामार्फत ल्याउन लागिएको ३० हजार टन युरिया मल एक साताभित्र वीरगन्ज नाका आइपुग्ने भएको छ। कृषि सामग्री कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार मल भारतको कोलकाता बन्दरगाहमा आइपुगेको छ र अहिले प्याकिङको चरणमा छ। तीन दिनभित्र रेलवे र्‍याकमार्फत वीरगन्ज भित्रिने मल आदित्य बिरला कम्पनीले आपूर्ति गर्दैछ, जसले भारत सरकारसँग कन्साइन्मेन्ट आपूर्तिको ठेक्का पाएको हो।

कम्पनीको उक्त कन्साइन्मेन्ट अन्तर्गत हालसम्म १६ हजार टन युरिया नेपाल भित्रिनेछ भने बाँकी मल अर्को जहाजमार्फत ल्याइनेछ। पाण्डेका अनुसार अहिले आइरहेको १६ हजार टनमध्ये ६ हजार ७ सय टन वीरगन्ज, बाँकी भने भैरहवा र विराटनगरका प्रादेशिक कार्यालयमा वितरण हुनेछ। साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी दुवैलाई आपूर्ति गरिने मल हाल कतारबाट ल्याइएको ३५ हजार टनमध्ये बाँडफाँट गरिएको हो। मलको निरन्तर आपूर्तिका कारण बर्खे धान सिजनमा माग पूरा हुनेमा आफूहरू आशावादी रहेको पाण्डेले बताए।

 
 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?