महिला, बालबालिका तथा सामाजिक न्याय समितिको जलेश्वर प्रादेशिक अस्पतालमा अनुगमन, सुधार भए पनि चुनौती कायम
4 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार १३ गते । मधेश प्रदेशको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले असार १३ गते महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालको अनुगमन गरेको छ। स्वास्थ्य सेवासम्बन्धी संसदीय निगरानीका रूपमा गरिएको उक्त अनुगमनमा समितिकी अध्यक्ष रूपाकुमारी यादवसहित सात जना सांसद र विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरू सहभागी थिए। अनुगमनपछि अध्यक्ष यादवले अस्पतालको सरसफाइलगायत केही क्षेत्रमा सुधार देखिएको बताउँदै निगरानीको प्रक्रिया निरन्तर चल्ने जानकारी दिइन्। अनुगमनपछि तयार पारिने प्रतिवेदन प्रदेश सरकारलाई बुझाइनेसमेत उनले स्पष्ट गरिन्।
अस्पताल अनुगमनको क्रममा व्यवस्थापन समितिका अध्यक्ष मिन्नु झा र निमित्त प्रमुख डा. विकासकुमार साहले जनशक्ति र साधनस्रोतको अभाव प्रमुख समस्या रहेको बताए। डायलासिस, आइसियु, औषधी तथा अन्य सेवाहरू प्रभावित भइरहेकाले तत्काल आवश्यक जनशक्ति र बजेट सुनिश्चित गरिनुपर्ने माग गरिएको थियो। विद्युत् र खानेपानीका भुक्तानीदेखि प्रशासनिक भवन निर्माण रोकिएकोसमेत जानकारी दिइयो। कार्यक्रममा नागरिक समाज र स्थानीय जनप्रतिनिधिले समयमा निगरानी नहुँदा प्रभावकारी सुधार हुन नसकेको जनाउँदै औषधी किन्ने अधिकार अस्पताललाई दिनुपर्ने र अस्पतालको स्तरोन्नति तथा सुदृढीकरणमा सरकारको ध्यान जानुपर्नेमा जोड दिएका थिए।
कमेन्ट गर्नुहोस्
view comments