जनकपुरधाममा मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु , पुरस्कार २५ हजार

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, असार १२ गते ।  मधेश प्रदेश सरकारले ५० लाख रुपैयाँ खर्च गरेर बिहीबारदेखि मुख्यमन्त्री अन्तर–प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता सुरु गरेको छ। तर प्रतियोगिताको पुरस्कार राशी सार्वजनिक भएसँगै सहभागी सातै प्रदेशका खेलाडीहरूमा व्यापक असन्तुष्टि देखिएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई मात्र २५ हजार रुपैयाँ, दोस्रो हुनेलाई २० हजार र तेस्रोलाई १५ हजार रुपैयाँ पुरस्कार दिइने घोषणा गरिएको छ। उक्त पुरस्कार राशी अन्तर–प्रदेश स्तरको प्रतियोगिताका लागि अत्यन्त न्यून रहेको भन्दै खेलाडीहरू असन्तुष्ट देखिएका छन्। धेरैले तामझामसहितको प्रतियोगिता हतारमा आयोजना गरिएको र खेलाडीको सम्मानभन्दा बजेट खर्च गर्ने नियत देखिएको टिप्पणी गरेका छन्।

मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजीप्रसाद कानुले प्रतियोगिता असार मसान्तसम्म सञ्चालन हुने जानकारी दिएका छन्। उनका अनुसार सातै प्रदेशबाट १२ जनाको दरले ८४ जना खेलाडी, प्रशिक्षक, व्यवस्थापकसहित अन्य ६६ जना (निर्णायक, अफिसियल, संघ प्रतिनिधि र स्वयंसेवक) सहभागी छन्।

सदस्य सचिव कानुका अनुसार कार्यविधिले नै पुरस्कार राशी सीमित गरिएकाले त्यसलाई परिवर्तन गर्न नसकिने अवस्था रहेको छ। यद्यपि, खेलाडीहरूलाई पाँच दिनको १६ सय रुपैयाँसम्म भत्ता, दुबै तर्फको भाडा र अन्य सुविधा उपलब्ध गराइने बताएका छन्। भत्ता खर्च मात्रै झण्डै ६ लाख ७२ हजार रुपैयाँ हुने अनुमान छ।

तर समग्र ५० लाख रुपैयाँको बजेट खर्च हुने प्रतियोगितामा पुरस्कारमा अत्यधिक कञ्जुस्याइँ गरिएको भन्दै आम चासो र आलोचना बढिरहेको छ। खेलाडी उत्पादनभन्दा कार्यक्रम ‘शो–पिस’ बन्ने अवस्था देखिएको भन्दै कतिपयले खेलकुदभन्दा राजनीतिक दिखावटी प्राथमिकता दिइएको आरोपसमेत लगाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?