जनकपुरधाम, असार १२ गते । सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगंजस्थित भित्री सडकमा बुधबार राति टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेर घटनास्थलमै रहेको टिपरमा आगजनी गरेका छन्। ना २ क ५०१ नम्बरको टिपरले जब्दीबाट लालबन्दीतर्फ आउँदै गर्दा साइकलमा सवार सर्लाही कबिलासी–८ का २० वर्षीय सचिन साह गुप्तालाई ठक्कर दिएको थियो। गम्भीर घाइते गुप्तालाई प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो तर राति ९ बजे चिकित्सकले मृत घोषित गरेका थिए।
दुर्घटनापछि चालक फरार भइ टिपर घटनास्थलमै छाडिएको जानकारी पाएपछि आक्रोशित स्थानीयले प्रहरीको सम्झाउने प्रयास बेवास्ता गर्दै बेलुका पौने ९ बजे टिपरमा आगो लगाएका थिए। आगलागीबाट टिपरको अगाडिको भाग पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। इन्स्पेक्टर वीरेन्द्र सिंह जोहारीको नेतृत्वमा १३ जनाको टोली र अन्य प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको थियो। दमकलको सहयोगमा आगो निभाइएको हो भने राति सवा २ बजे क्रेनको सहायताले टिपर हटाई जिल्ला ट्राफिक कार्यालय नवलपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments