स्थानीय तहमा बजेटको झगडा: नगरसभामै हात हालाहाल, वडाध्यक्षको विरोध चर्कियो

8 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार १० गते । महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहहरूमा आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्ने क्रममा जनप्रतिनिधिहरूबीच चर्को विवाद देखिएको छ। मनराशिसवा नगरपालिकाको १४औं नगरसभामा नगर प्रमुख मोहन पाण्डेय बजेट प्रस्तुत गरिरहेका बेला वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूले असहमति जनाउँदै मञ्चमै हुलदंगा गरेपछि केहीबेर सभा अवरुद्ध भयो। नगर प्रमुखले धारणा राख्न बन्द सत्रमा सहभागी हुन आग्रह गरे पनि असन्तुष्ट सदस्यहरूको आक्रोश झन् बढ्दै जाँदा प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई बाहिर निकालेपछि मात्र सभा सञ्चालन सम्भव भयो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत बजेट प्रक्रिया सञ्चालन गरिएको आरोप लगाउँदै वडाध्यक्षहरूले विरोध जनाएका छन्। सोनमा गाउँपालिकामा पनि उपप्रमुख र तीन वडाध्यक्षसहित सात जनाले गाउँसभाको विरोध गरेका छन्। अध्यक्षले कुनै योजना छनोट, वडा भेला वा समितिको बैठक नगरी जबरजस्ती बजेट अघि बढाएको भन्दै वडा नं. १ का अध्यक्ष अशोककुमार यादवले लिखित ज्ञापनसमेत दिएका छन्। महोत्तरीका १५ स्थानीय तहमध्ये केहीले बजेट सार्वजनिक गरिसकेका छन् भने केहीमा अझै विवादका कारण प्रक्रिया अघि बढ्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?