वीरगन्ज–परवानीपुर सडकमा मुख्यमन्त्रीको छड्के अनुगमन, तीन जना अवैध कर असुलीमा पक्राउ

8 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार १० गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमबार साँझ वीरगन्जको सुख्खा बन्दरगाहदेखि परवानीपुरसम्मको सडकखण्डमा छड्के अनुगमन गर्दै अवैध सवारी कर असुली गर्ने तीन जनालाई नियन्त्रणमा लिएका छन्। भारतबाट भित्रिने गाडी, विशेषगरी भारतीय नम्बर प्लेट भएका सवारीसाधनबाट तोकिएकोभन्दा बढी रकम असुली भइरहेको गुनासो बढेपछि मुख्यमन्त्री सिंहले तत्कालै स्थलगत निरीक्षण गरेका हुन्। सडकका अस्थायी ढाटहरूमा भइरहेको अवैध असुलीविरुद्ध उनले कडा प्रतिक्रिया जनाउँदै ती तीन जनालाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा दिइएको छ। मुख्यमन्त्री सिंहले जनताको गुनासो अब बेवास्ता नहुने भन्दै प्रदेश सरकारले यस्ता गैरकानुनी गतिविधिमाथि शून्य सहनशीलता अपनाउने बताए। उनले भने, “अवैध असुली, बलजफ्ती कर र सीमापार सवारीसाधनमाथिको दुर्व्यवहार अब सह्य हुँदैन।” पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले पक्राउ परेकाहरूको नामसहितका विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?