जनकपुरका कलाकार अभिनास झा ‘कलकतियाबाली’की पत्नी अँसा सदा घरमै मृत फेला — आत्महत्याको आशंका
7 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार १० गते । जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की पत्नी अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्।
धनुषा जिल्ला अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका–२० स्थित नोचापुरमा सोमबार राति उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
अभिनास झा र अँसा सदा केही महिनाअघि मात्रै अन्तरजातीय विवाह बन्धनमा बाँधिएका थिए र माघ महिनामा विधिपूर्वक गृह प्रवेश गरेका थिए। सामाजिक सञ्जालमा उनीहरूले एकअर्काप्रतिको प्रेम र समर्पण खुलेर व्यक्त गर्दै आएका थिए।
तर अँसा सदा मृत फेला परेपछि घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ। प्रहरी टोली घटनास्थलमा खटिएको छ र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार, “मृतकको माइती पक्ष नआएकाले शव परीक्षण अघि बढ्न सकेको छैन। उनीहरू आएपछि पोष्टमार्टम गरिनेछ।”
हालसम्म घटनालाई आत्महत्याको आशंका गरिएको भए पनि पोष्टमार्टम रिपोर्ट नआएसम्म निश्चित भन्न नसकिने प्रहरीले स्पष्ट पारेको छ।
घटनापछि कलाकार अभिनास झा गहिरो मानसिक तनावमा छन् र बोल्न सक्ने अवस्थामा नरहेको प्रहरी स्रोतले जनाएको छ।
घटनास्थल नोचा पोखरी नजिकै रहेको हुँदा जनकपुरधाम–१२ र २० का स्थानीयवासी त्रसित बनेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments