पूर्वाधार विकास कार्यालयको बजेट खर्च ४५ प्रतिशतमा सीमित, समयमै कागजात नआए भुक्तानी रोकिने चेतावनी
2 महीना पहिले प्रकाशित

जनकपुरधाम, असार ९ गते । रौतहटस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको ८१/८२ को बजेटमध्ये हालसम्म ४५ प्रतिशत मात्र खर्च भएको जनाएको छ। कार्यालयका लेखा अधिकृत सुदिप गौतमका अनुसार एक अर्ब ५० करोडको बजेटमध्ये अधिकांश योजना कार्यान्वयनको क्रममा छन्, तर खर्चको गति सुस्त रहेको छ। अब बाँकी रहेको १७ दिनभित्र ५५ प्रतिशत बजेट खर्च गर्नुपर्ने चुनौती रहेको उल्लेख गरिएको छ। कार्यालय प्रमुख दीपककुमार मिश्रले बहुवर्षीय योजनाको तुलनामा वार्षिक योजनालाई प्राथमिकता दिइएको र प्रत्येक योजना प्राविधिक निरीक्षणमा सञ्चालन गरिएको बताए।
कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिनअगाडि, असार २० गतेभित्र भुक्तानी सम्बन्धी सम्पूर्ण कागजात लेखा शाखामा बुझाउन अनुरोध गरेको छ। भुक्तानी प्रक्रियामा ढिलाइ नहोस् भन्नका लागि IPFMS प्रणालीको चापलाई ध्यानमा राखी समयमै प्रक्रिया पूरा गर्न आग्रह गरिएको हो। यदि तोकिएको मितिभित्र कागजात नबुझाएमा त्यसको जिम्मेवारी सम्बन्धित उपभोक्ता, निर्माण व्यवसायी र साइट इञ्जिनियरको हुने सूचना मार्फत चेतावनी दिइएको छ। गत वर्ष समयमै कागजात नपुगेका सात योजनाको भुक्तानी अड्किएको उदाहरण दिँदै यस पटक समयपालन गर्न कार्यालयले विशेष जोड दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments