पुनौरा धाम अयोध्याको झल्को दिने गरी विकसित हुने, जानकी मन्दिरको भव्य नक्सा सार्वजनिक

4 महीना पहिले प्रकाशित

एजेन्सी, असार ८ गते । बिहारको सीतामढी जिल्लास्थित माता जानकीको जन्मस्थल पुनौरा धामलाई अयोध्याको राम मन्दिरजस्तै भव्यरूपमा विकास गरिने भएको छ। आइतबार मुख्यमन्त्री नीतीश कुमारले आफ्नो सामाजिक सञ्जालमार्फत पुनौरा धाम मन्दिरको डिजाइन सार्वजनिक गर्दै सम्पूर्ण क्षेत्रको समग्र विकासको घोषणा गरेका छन्। उनले लेखेका छन्, "जगत जननी माता जानकीको जन्मस्थल पुनौरा धाम, सीतामढीको समग्र विकासका लागि मन्दिरसहित अन्य संरचनाहरूको डिजाइन तयार भइसकेको छ, जुन अब सार्वजनिक गरिएको छ।"

मुख्यमन्त्री कुमारका अनुसार यस योजना अन्तर्गत मन्दिर निर्माण कार्यलाई तीव्र बनाउन विशेष ट्रस्टको पनि गठन गरिएको छ। यसअघि नै राज्य सरकारले मन्दिर क्षेत्रको विकासका लागि ७२ करोड र जग्गा अधिग्रहणका लागि १२० करोड रुपैयाँको बजेट छुट्याइसकेको छ। पुनौरा धामको ५०.५ एकड क्षेत्रमा मन्दिर र यसको आसपासको विकास गरिनेछ। हालसम्म जग्गा निरीक्षण पूरा भइसकेको छ र सम्बन्धित विवरणहरू पर्यटन विभागमा पठाइएको छ।

सरकारको योजना अनुसार पुनौरा धामलाई एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य बनाइनेछ। यसबाट स्थानीय अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना र राज्यको पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ। पर्यटन विभागका अनुसार परियोजना समयमै सम्पन्न गर्न सरकारले सबै आवश्यक प्रयास गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?