मौलापुर नगरपालिकाद्वारा 'फ्री बिजुली, फ्री पानी' योजनाअन्तर्गत प्राधिकरणलाई थप ६० लाख हस्तान्तरण

10 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ८ गते । रौतहटको मौलापुर नगरपालिकाले “फ्री बिजुली, फ्री पानी” योजना अन्तर्गत नेपाल विद्युत प्राधिकरणलाई थप ६० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ। नगर प्रमुख रिना कुमारी साहले शुक्रबार मौलापुर वितरण केन्द्रका प्रमुख राम दिनेश यादवलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन्। चालु आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत नगरवासीको विद्युत महसुल भुक्तानीका लागि प्रदान गरिएको यो रकमसँगै, नगरपालिकाले हालसम्म योजनामा कुल ३ करोड १७ लाख १० हजार रुपैयाँ खर्च गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए।

प्राधिकरणका अनुसार यो रकमले २०८२ सालको भदौ मसान्तसम्मको विद्युत महसुल धान्न सक्नेछ। शून्य कर नीतिअन्तर्गत मौलापुर नगरपालिकाले नागरिकलाई घरायसी तथा कृषि प्रयोजनका सम्पूर्ण बिजुली महसुल निःशुल्क बनाउँदै आएको छ। सामान्य प्रशासनिक संरचनाभन्दा भिन्न मोडेल अँगाल्दै मौलापुरले कर संकलनविना सेवा प्रवाह गर्दै आएको छ। नगर प्रमुख साहले "अपन नगर, मौलापुर नगर" नारामार्फत नगरवासीमा आत्मीयता र भरोसा कायम गर्न सफल भएको दाबी गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?