पर्सामा सवारी दुर्घटनामा भारतीय नागरिकको मृत्यु, सुमो चालक फरार

10 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ८ गते । पर्साको बहुदरमाई नगरपालिका–५, पटनीमा शनिबार राति भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। राति करिब साढे ९ बजे बीआर ०१ पीए ४४०९ नम्बरको भारतीय सुमो र विपरीत दिशाबाट आइरहेको नम्बर नखुलेको मोटरसाइकल एकापसमा ठोक्किएपछि दुवै सवारीसाधन सडकबाट चार मिटर तल खसेर जलेर नष्ट भएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका भारत बिहार पूर्वी चम्पारणका ३८ वर्षीय मोटरसाइकल चालक नरेश साह वर्णवालको नारायणी अस्पताल वीरगन्जमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार पर्सा बहुदरमाई–५ का १९ वर्षीय रोशनकुमार वर्णवाल घाइते भएका छन् र हाल नारायणी अस्पतालमै उपचाररत छन्। सुमो चालक भने दुर्घटनापछि फरार भएका छन् र उनको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ। दुर्घटनापछि सवारीसाधनमा आगलागी भई पूर्ण रूपमा नष्ट भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?