सर्लाहीमा सडक विस्तारको विवादले उग्र रुप लिँदा प्रहरीसहित १० जना घाइते, स्थिति नियन्त्रणमा
11 दिन पहिले प्रकाशित

जनकपुरधाम, असार ८ गते । सर्लाहीको बरहथवा नगरपालिका–४, खैरा टोलमा शनिबार सडक विस्तारको विषयमा भएको झडपमा दुई प्रहरीसहित १० जना घाइते भएका छन्। झडप नियन्त्रणका क्रममा प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको थियो। घाइते हुनेमा प्रहरी निरीक्षक दीवाकर गणेश, वरिष्ठ हवलदार प्रमेश्वर राय यादवसहित टीकाबहादुर र कुलबहादुर कार्की, रमेश महतो कोहरी र उनका परिवारका सदस्यहरू, तथा अन्य स्थानीय बासिन्दा रहेका छन्। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ भने अन्यको स्थानीय स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटना सडक ढलान गर्ने क्रममा उत्पन्न विवादबाट चर्किएको हो। आफूहरूको जग्गा मिचिएको भन्दै स्थानीय महिला एकजना ढलान भइरहेको सडकमा लम्पसार परेकी थिइन्, जसपछि विवाद झडपमा रूपान्तरण भएको थियो। सामाजिक सञ्जालमा बाँस र ढुंगाको प्रयोग भएको भिडन्तका दृश्यहरू सार्वजनिक भएका छन्। झडपपछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ भने खैरा टोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति कायम गरिएको छ। वडा अध्यक्ष कृष्णकुमार साहले बाहिरबाट आएका व्यक्तिले झडप गराएको भन्दै छानबिनको माग गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments