आँप आत्मनिर्भर आम्दानीको स्वादिलो सम्भावना
7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार ६ गते । सिरहा जिल्ला अहिले आँप उत्पादनमा देशकै प्रमुख केन्द्र बनेको छ। यो याम सिरहामा आँपको सुगन्ध, स्वाद र चहलपहलले विशेषता बोकेको छ। ‘आँपको राजधानी’ भनेर चिनिने सिरहामा न केवल आँगन, बगैँचा र सडक किनारमा आँप देखिन्छ, बरु यसले हजारौं किसानको जीवनयापनको आधारसमेत बनेको छ। गोलबजारको मुसहर्निया क्षेत्रजस्ता स्थानमा सयौं बिघा क्षेत्रफलमा फैलिएको व्यावसायिक आँपखेतीले बजार, रोजगारी र आत्मनिर्भरता तीनै पक्षमा योगदान पुर्याइरहेको छ।
तर, उत्पादनको उत्कृष्टता हुँदाहुँदै पनि भारतीय सस्तो र रसायनयुक्त आँपको अन्धाधुन्ध आयातले सिरहाका किसानहरूलाई बजारमा पछाडि पारिरहेको छ। स्थानीय किसानहरू मेहनत, गुणस्तर र स्वास्थ्य सुरक्षा दिन तयार भए तापनि स्पष्ट नीति र निगरानीको अभावले उनीहरू निराश छन्। सरकारको कागजी आत्मनिर्भरता नीतिका बीच, चिस्यान केन्द्र, ब्राण्डिङ र प्रसोधनको अभावले स्थानीय आँपले प्रतिस्पर्धा गर्न सकिरहेको छैन। सिरहामा उत्पादित ‘लहानको माल्द’ नामी भए तापनि नक्कली लेबलिङ र विषादी प्रयोगका कारण यसको प्रतिष्ठा धमिलिँदै गएको छ।
मधेस प्रदेश देशको ७७ प्रतिशत आँप उत्पादन गर्ने भूभाग हो, तर यहाँ आधारभूत पूर्वाधारको अभाव छ। व्यावसायिक आँपखेतीले स्थानीय अर्थतन्त्र रूपान्तरण गर्न सक्ने क्षमता हुँदाहुँदै पनि संघीय र प्रदेश सरकारको बेवास्ताले सम्भावना कुहिन थालेको छ। यदि सरकारको ध्यान चिस्यान केन्द्र, प्रशोधन कारखाना, ब्राण्डिङ र निर्यात जस्ता क्षेत्रमा गम्भीर रूपमा केन्द्रित गरियो भने सिरहा मात्र होइन, सिङ्गो मधेस प्रदेश अन्तर्राष्ट्रिय बजारमा नेपाली आँपको स्वादिलो प्रतिनिधि बन्न सक्छ।
कमेन्ट गर्नुहोस्
view comments