जनकपुर क्षेत्र विकास परिषद्का पूर्व निर्देशकसहित ६ जनाविरुद्ध ५१ लाख भ्रष्टाचार मुद्दा

6 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार ६ गते ।  बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को कार्यकारी निर्देशक पदमा रहँदा सार्वजनिक रकम दुरुपयोग गरेको आरोपमा पूर्व निर्देशक बलराम ठाकुरसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार ठाकुरले २०७५ साल मंसिरदेखि २०७९ मंसिरसम्मको कार्यकालमा योजनाबद्ध तरिकाले सरकारी रकम हिनामिना गरेका थिए। स्कर्पियो गाडी खरिददेखि यात्री निवास मर्मत र सौन्दर्यीकरणका नाममा करोडौं रकम गैरकानुनी रूपमा खर्च गरिएको आरोपपत्रमा उल्लेख छ। स्कर्पियो गाडी ठाकुरकै श्रीमतीको नाममा दर्ता गराई सार्वजनिक पदको दुरुपयोग गर्दै गाडीको भुक्तानी सार्वजनिक स्रोतबाट गरिएको पाइयो।

त्यस्तै, मधेश प्रदेश सरकारबाट प्राप्त ९० लाखमध्ये ४५ लाख रुपैयाँ बिना प्रक्रिया उपभोक्ता समितिमा निकासा गरी त्यसबाट कर्मचारी र चालकको नाममा चेक काटिएको थियो। अनुसन्धानमा ती रकम गाडी भुक्तानीमा खर्च गरिएको प्रमाणित भएको छ। यस्तै, यात्री निवास सौन्दर्यीकरणको काम उपभोक्ता समितिको नाममा भए पनि वास्तवमा ठेकेदारमार्फत गराइएको थियो। थप रूपमा ठाकुरले निजी गाडीको मर्मत, इन्धन र भाडाका नाममा करिब २० लाख रुपैयाँ अनियमित रूपमा लिएको पाइएको छ। कूल ५१ लाख ७१ हजार ८४४ रुपैयाँ ७४ पैसाको भ्रष्टाचार भएको ठहर गर्दै आयोगले ठाकुरसहित इन्दुलेखा कुमारी ठाकुर, मुकेश यादव, विजय कुमार चौधरी, बविता देवी साह र जितेन्द्र कुमार यादवविरुद्ध कारबाही माग गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?